Public Pana
फूल किसान उत्साहित

दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन् ।


जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो ।


दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो  गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ ।


त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्।


लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ।


यो निर्णयसँगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरू हौसिएका छन्।


तुलसीपुर उपमहानगरपालिका – १७ मा १६ बिगाहा क्षेत्र फलमा फूलखेती गरेका ६० वर्षीय हेमराज शर्माले आफूजस्ता कृषकहरू तुलसीपुर र घोराहीको निर्णयले उत्साहित बनेको बताए । 


जिल्लाको सबै भन्दा बढी क्षेत्रफलमा शर्मासहित पाँच जना मिलेर फूलखेती गरेका छन्।

घोराही उपमहानगरपालिका – १४ मा लोकेन्द्र रोका मगरले पनि ९ वर्षदेखि व्यवसायिक फूलखेती गर्दै आएका छन्। उनीहरूले बाह्रै महिना फूल तथा माला उत्पादन तथा बिक्री गर्दै आएका छन् ।


पछिल्लो समय दाङ फूलखेतीमा आत्मनिर्भर हुँदै आएको छ । 


तुलसीपुर, घोराही क्षेत्रमा अध्यनरत विद्यार्थीसमेत सयपत्री फूलको व्यवसायिक खेतीमा जोडिएका छन्।


कृषि ज्ञान केन्द्र दाङकी कृषि अधिकृत देबा महराले हाल जिल्लामा कार्यालयको रेकर्डमा रहेको मध्य २४ बिगाहा क्षेत्रफलमा व्यवसायिक फूलखेती भइरहेको बताइन।


झन्डै पौने आठ लाख जनसंख्या रहेको यो जिल्ला लुम्बिनी प्रदेशको राजधानी पनि हो ।


दाङमा फूलको उत्पादनमा वृद्धि भएसँगै पछिल्लो समय बुटवल, नेपालगंज, सुर्खेत र धनगढीसम्मको माग यही जिल्लाले थेग्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update