Public Pana
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दुर्गा प्रसाईंबारे कुनै कुरा नभएको एमालेको प्रष्टिकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेर विवादित व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न आग्रह नगरेको एमालेले जनाएको छ ।


उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय र अरू समसामयिक राजनीतिकबाहेक अरू विषयमा कुरा नभएको बताए ।


‘प्रसाईंका विषयमा कुनै कुरै भएको छैन, यो बेकारको कुरा हो,’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै ज्ञवालीले भने, ‘कर्कलो काट्न बञ्चरो प्रयोग गर्नुपर्छ भन्ने नै छैन, प्रधानमन्त्रीसँग यस्ता विषयमा छलफल गर्ने कुरा नै आउँदैन ।’


ज्ञवालीले एमालेविरूद्ध माओवादीले प्रोपोगाण्डा गरेको बताए ।


हिजो आइतबार बिहान माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रसाईंबारे कुराकानी भएको र ओलीले प्रसाईंलाई पक्राउ गर्नुपर्ने बताएको ब्रिफिङ गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं लामो समयसम्म यी दुबै नेताका निकटस्थ मानिन्थे ।


पछि एमालेतिर लागेर प्रसाईं एमालेका केन्द्रीय सदस्यमा मनोनीत समेत भएका थिए ।

नेकपा विभाजन भएपछि एमालेतिर लागेका प्रसाईंले प्रचण्डलाई बुवा र केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने गर्थे ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update