Public Pana
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी

संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेस आज मंगलबार लुम्बिनी पुगेका छन् । गुटरेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लुम्बिनी आउने कार्यतालिका छ। महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका थिए । 


लुम्बिनी विकास कोषले महासचिव गुटरेसको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले महासचिवको भ्रमणको सबै तयारी पूरा भएको बताए । 
महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उनले बताए । 


गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए । नेपालले संयुक्त राष्ट्र संघको पहलमा शुरू भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरूको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनः स्मरण गराइने बताए । 


महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्चस्तरी अधिकारीहरूले स्वागत गर्नेछन् ।
संयुक्त राष्ट्र संघका महासचिवको रूपमा गुरेसको लुम्बिनी भ्रमण छैटौं हो ।

सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रूपमा भने भ्रमण भएको थिएन । तर, पनि उनीसहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन् । 


संयुक्त राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। 

संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ।

संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update