Public Pana
आर्थिक संकट :  हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

आर्थिक संकटका कारण समयमा कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ ।
उद्योगलाई मासिक ३ हजार ६ सय मेट्रिक टन कोइला चाहिन्छ ।


उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले दसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।


उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सोमबारदेखि सिमेन्ट उत्पादन बन्द गरेको बताए ।


महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे कन्द्रीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको र केही अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याइने बताए ।


कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँ लगायत विभिन्न सहरमा बिक्रीका लागि तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । 


चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री–वितरण गर्न समस्या भएको जनाइएको छ ।


कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । 


२०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ मंसिर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन सुरुवात गरेको थियो।

 उद्योगमा ३९० कर्मचारी कार्यरत छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update