Public Pana
अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशअनुसार संक्रमणकालीन न्यायको विषय टुंगिनुपर्नेमा राष्ट्रसंघ महासचिवको जोड 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुराउन सहयोग गर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सिंहदरबारमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


उनले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंग्याउने क्रममा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकारहरू सम्बोधन हुनुपर्ने पनि बताए ।

’अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकार तथा मागहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काममा सघाउन राष्ट्रसंघ तयार छ,’ गुटेरेसले भने ।

पत्रकार सम्मेलन अघि उनले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमै भेटेका थिए । प्रधानमन्त्रीसँगको भेट उपलब्धिपूर्ण भएको पनि उनले बताए ।

प्रधानमन्त्रीसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।

महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, उनी आजै ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने कार्यसूची छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update