संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
आइतवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर पत्रकार सम्मेलनमा सहभागी भइसकेपछि गुटेरेसले सभामुख घिमिरेसँग भेटेका हुन् ।
त्यसअघिको पत्रकार सम्मेलनमा गुटेरेसले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंग्याउने क्रममा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकारहरू सम्बोधन हुनुपर्ने बताएका थिए ।
’अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकार तथा मागहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुंगोमा पुराउने काममा सघाउन राष्ट्रसंघ तयार छ,’ गुटेरेसले भने ।
पत्रकार सम्मेलन अघि उनले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमै भेटेका थिए ।
प्रधानमन्त्रीसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।
महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, उनी आजै ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने कार्यसूची छ ।