Public Pana
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले गर्दैछन् आज राजनीतिक भेटवार्ता 

नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा गयराति काठमाडौँ आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।

राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री  प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


परराष्ट्र मन्त्रालयका अनुसार आजै महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । ती भेटवार्ता संघीय संसद् भवन नयाँबानेश्वरमा  हुनेछ ।

त्यसैगरी उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । 

भ्रमणका क्रममा भोलि (सोमबार) गुटेरेस नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ। आगामी मङ्गलबार अपराह्न ४ ः ०० बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update