Public Pana
कांग्रेसको चियापान

दसैं, तिहार, छठ पर्व लगायतका पर्वहरूको उपलक्ष्यमा नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

पार्टी कार्यालयका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलका अनुसार चियापानमा दश हजार भन्दा धेरै जनालाई निमन्त्रणा गरिएको थियो । 

पार्टीको औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै सानेपामा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताहरू सानेपा पुगेका छन्।

त्यस्तै, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणहरू पनि कांग्रेसको चियापानमा सहभागी भएका छन्।

विसं २०३३ सालमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ।

सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गरेका हुन्।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update