Public Pana
एन्टोनियो गुटेरस आज राति १ बजे नेपाल आइपुग्ने 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि आज राति १ बजे काठमाडौँ आइपुग्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गत असोजमा न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरसलाई नेपाल भ्रमणको लागि निमन्त्रणा गरेका थिए । 

सरकारले महासचिव गुटेरसको भ्रमणलाई उच्च प्राथमिकता दिएको छ । राष्ट्रसंघका महासचिव गुटेरस पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत हुन् । महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । 

महासचिव गुटेरस आइतबार राति १ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नेछन् । उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि महासचिव गुटेरस बास बस्न होटल जानेछन् । 

भोली आइतबार दिउँसो गुटेरस र परराष्ट्रमन्त्री साउदबीच द्विपक्षीय भेटवार्ता हुनेछ । लगत्तै उनले प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन्। त्यसपछि उनले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ । 

आइतबारै महासचिव गुटेरस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन भ्रमणमा जाने र साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।
सोमबार (१३ कात्तिकका दिन) महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन्। जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् ।  

सोमबार साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ। कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन्। अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। सोमबार साँझै उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् ।

सोमबारै लुम्बिनीबाट काठमाडौं फर्केर उनले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

आगामी बुधबार (१५ कात्तिकमा) महासचिव गुटेरेस संयुक्त राष्ट्रसंघ मुख्यालय फर्किने कार्यक्रम छ । 

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा गुटेरेसको चार दिने भ्रमणको तयारीको लागि नेपाल आइसकेका छन् । थापाको नेतृत्वमा रहेको स्थायी प्रतिनिधिको कार्यालय र यूएन तथा नेपाल सरकारबीच समन्वय गरेर उनको भ्रमण कार्यतालिका बनाइएको सरकारले जनाएको छ ।

महासचिव गुटेरसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने अपेक्षा सरकारले गरेको छ । 

यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ । 

यसअघि गुटेरसले शरणार्थीका लागि संयुक्त राष्ट्रससंघीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपालको भ्रमण गरेका थिए । 

महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन् । 

सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मेका गुटेरस भौतिक शास्त्र तथा इलेक्ट्रीकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेशामा संलग्न थिए। सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ७४ वर्षीय महासचिव गुटेरस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रुपमा परिचित छन्। उनी सन् १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update