Public Pana
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान 

इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।


यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो ।


न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । उनले भने, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ । यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो र यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ,’ उनले थपे ।


उता इजरायली सेनाले हिजो शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ ।


आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।


यसैबिच, सेनालाई उद्धृत गर्दै इजरायली मिडिया क्यानले हमासको बन्दीमा २ सयभन्दा बढी बन्धक रहेको बताएको छ । जसमध्ये ३० जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update