Public Pana
प्रधानसेनापति शर्मा चीन प्रस्थान

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका हुन् ।


भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सीएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


साथै भ्रमणका क्रममा उनले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।


प्रधानसेनापति शर्मा कात्तिक १६ गते स्वदेश फर्कनेछन् ।

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत छन् ।


प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update