Public Pana
परराष्ट्रमन्त्री साउद पर्सी आइतबार अमेरिका जाँदै 

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि आगामी कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दैछन्।

आइतबार साँझ काठमाडौं ओर्लने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई विमानस्थलमा परराष्ट्रमन्त्री साउदले स्वागत गर्ने तय भएको छ। सोही साँझ उनी अमेरिका भ्रमणका लागि उड्ने छन्। 

भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ

भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसङग समेत भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ।


उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउनेछन्।


नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन्। 


परराष्ट्रमन्त्री कात्तिक १९ गते काठमाडौँ फर्कनेछन्।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update