Public Pana
आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए 
बुवा आमा र आफन्तसँग आचार्य बालकृष्ण

छोरा बालकृष्ण विश्वका अर्बपतिको सूचीमा छ । बाआमाका लागि यसपालिको बडादसैँले आश्चर्यजनक खुसी नै भित्र्याइदियो ।
११५ जनाको टोली लिएर छोरा आचार्य बालकृष्ण घरआँगनमा आइपुगे, असोज ६ गते नवमीका दिन, सबै खुसी भए । 
भारतको प्रसिद्ध पतञ्जली योगपीठका मुख्य संस्थापक-सञ्चालक करिब ४० वर्षपछि आफ्नो जन्मथलो स्याङ्जामा दसैँ मनाउन पाउँदा बिछट्टै खुसी लागेको भन्दै तस्बिरसहित भावुक टिप्पणी सामाजिक सञ्जालमा उनले सम्प्रेषण गरेका छन् ।
लेखेका छन् -

लगभग ४० वर्षपूर्व एउटा बालक सनातन संस्कृति र विश्वका लागि केही गर्ने चाहनाले आफ्नो घरबाट एक्लै निस्किएको थियो। यी ४० वर्षमा ती वृद्ध आमाबुवाका आँखा सधैँ बाटो हेरिरहन्थे, दसैँ आउँछ, हाम्रो छोरा पनि कुनै दिन त घर आउला! ती वृद्ध आँखामा हर्षका कुनै सीमा नै रहेनन्, जब ४० वर्षपछि छोरा स्वामीजीको तप–पुरुषार्थको बलले आफ्ना परम तेजस्वी सयभन्दा बढी संन्यासी र साधवीसँगै उही सानो गाउँमा फर्कियो। यो दृश्य केवल भावविह्वल बनाउने मात्रै थिएन, सबैलाई रोमाञ्चित बनाउने प्रकारको पनि थियो। यो दृश्यको प्रत्यक्ष अनुभव म स्वयं आफ्नो पुरानो गाउँमा फर्किएर गरिरहेको थिएँ। विजयदशमीको तपाईँ सबैलाई हार्दिक मंगल कामना। सबैको जीवनमा उल्लास होस्। सबैको जीवनमा प्रकाश होस्, सब आनन्दित होऊन् र सबैको कल्याण होस्।
 –आचार्य बालकृष्ण

स्याङ्जाको वालिङनजिकै पर्ने भरुवा८ गाउँमा पर्छ, आचार्य बालकृष्णको पैतृक घर। ११५ जनाको टोलीसहित आउँदा तीमध्ये १०५ जना संन्यासी थिए। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे भन्छन्, ‘स्याङ्जा जिल्लामा उहाँको कुनै सार्वजनिक औपचारिक सार्वजनिक कार्यक्रम थिएन। विशुद्ध निजी पारिवारिक कार्यक्रम रह्यो। हामीले शान्तिसुरक्षाको व्यवस्था मात्र गर्यौं ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update