Public Pana
 इंग्ल्यान्डलाई सहजै हराउँदै श्रीलंका पाँचौ स्थानमा 

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा साविक विजेता इंग्ल्यान्डलाई सहजै हराउँदै श्रीलंका अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । 

बैंगलोरमा बिहीवार साँझ सकिएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटको अन्तरले सजिलै हराएको हो । 

इंग्ल्यान्डले दिएको १५७ रनको झिनो लक्ष्य श्रीलंकाले २५.४ ओभरमा मात्र २ विकेट गुमाएर १६० रन बनाउँदै सजिलै पूरा गर्यो ।

श्रीलंकाको जीतमा पाथुम निसांका र सादीरा समराविक्रमाले अविजित रहँदै अर्धशतकीय पारी खेले । निसांकाले ७७ र समराविक्रमाले ६५ रन बनाए ।

यस्तै, कप्तान कुसल मेन्डिसले ११ तथा कुसल परेराले ४ रन जोडे ।

इंग्ल्यान्डले लिएका दुवै विकेट डेभिड विल्लीको नाममा रह्यो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३३.२ ओभरमै अलआउट भएको थियो । इंग्ल्यान्डले खराब ब्याटिङ नमुना पेश गर्ने क्रममा ३४ ओभर नखेल्दै सबै विकेट गुमाएको थियो ।

श्रीलंकाको बलिङ आक्रमणसामु निरीह बनेको इंग्ल्यान्डले मात्र १५६ रन जोड्दै श्रीलंकालाई १५७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको हो ।

इंग्ल्यान्डका लागि बेन स्ट्रोकले सर्वाधिक ४३, जोली बेरिस्टोले ३० र डाविड मालानले २८ रन जोड्नबाहेक अन्य ब्याटर सस्तैमा समेटिएका थिए । 

श्रीलंकाका लागि लाहिरू कुमाराले ३, कसुन राजिथा र एन्जेलो म्याथ्युजले २–२ तथा महीशा थीक्सानाले १ विकेट लिए ।

शीर्ष ४ टोलीमात्र सेमिफाइनलमा पुग्ने समीकरणमा क्रमशः सातौं र आठौं स्थानमा रहेको श्रीलंका दुवै आज जित्नैपर्ने दबाबमा थिए । यसमा श्रीलंकाले बाजी मार्दै ४ अंकसहित पाँचौ स्थानमा उक्लिएर सेमिफाइनल सम्भावना जीवितै राखेको छ । 

इंग्ल्यान्ड भने नवौं स्थानमा झरेको छ । इंग्ल्यान्डले यसअघि सन् २०१९ मा घरमै विश्वकप जितेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update