Public Pana
बायर्नको जीतमा केन नायक

ह्यारी केनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा बायर्न म्युनिखले गालातासारेमाथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जीत हासिल गरेको छ ।

खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफको ७३ औँ मिनेटमा केनले सहज ट्याप–इन गर्दै टोलीलाई पुनः अग्रता दिलाए । छ मिनेटपछि उनले जमाल मुसियालीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।

प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जीत हो । तीन खेलमा तेस्रो जीत हासिल गर्दै टोली समूह एको शीर्ष स्थानमा रहेको छ । समूहमा गलातासारे दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update