Public Pana
चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त : अमेरिकासँग सैन्य वार्ता हुन बाँकी 
जनरल ली साङ्फु

चीनले रक्षामन्त्री जनरल ली साङ्फुलाई पदबाट बर्खास्त गरेको छ । 


राष्ट्रपति सी चिनफिङले करिब एक वर्षअघि गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको रूपमा आफ्नो अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेपछि पदबाट अचानक हटाइएका ली दोस्रो मन्त्री हुन् ।


यसअघि विदशेमन्त्री चिन काङलाई तीन महिनाअघि जुलाईमा पदबाट हटाइएको थियो । काङलाई उनका पूर्ववर्ती वाङ यीले विदेश मन्त्रीको रूपमा प्रतिस्थापन गरेका थिए। चिनलाई हटाउनुको कारण अझै खुलेको छैन ।


करिब दुई महिनाअघि, अगस्टको अन्त्यदेखि सार्वजनिक रूपमा नदेखिएका रक्षामन्त्री जनरल नरली साङ्फुलाई पनि चिनकै शैलीमा हटाइएको छ ।


अमेरिकाबाट प्रतिबन्धित अवस्थामा रहेका जनरल लीलाई हटाउने निर्णय चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिले अनुमोदन गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।  


अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिनिधिमण्डल दुई पक्षबीच लामो समयदेखि रोकिएको उच्चस्तरीय सैन्य वार्ताका लागि बेइजिङमा पुग्नु केही दिनअघि बेइजिङले जनरल लीलाई हटाइएको जानकारी दिएको हो । 


चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले यसको पुष्टि भने गरिसकेको छैन । 


पश्चिममा आफ्ना समकक्षीहरू जस्तो नभई, चिनियाँ विदेश र रक्षा मन्त्रीहरू मुख्यतया नीति प्रवर्तनकर्ता हुन्, शीर्ष निर्णयकर्ताहरू होइनन् । तर ली र चिन दुबै राज्य काउन्सिलर थिए, जुन पद चीनको मन्त्रिपरिषदमा मन्त्रीभन्दा पनि उच्च ओहदा हो । 


चीनको सबैभन्दा छोटो समयका विदेश मन्त्री ५७ वर्षीय चिन काङले आज मंगलबारबाट आफ्नो एक मात्र बाँकी रहेको सो सरकारी पद पनि गुमाएका छन् ।
नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले मंगलबार चिन काङलाई राज्य काउन्सिलरबाट पनि हटाउने निर्णय गरेको हो । 


६५ वर्षीय ली पिपुल्स लिबरेसन आर्मीको सार्वजनिक अनुहार र पीएलएको सत्तारुढ निकाय केन्द्रीय सैन्य आयोगका सदस्य पनि हुन्। रक्षामन्त्री ली सदस्य रहेको केन्द्रीय सैन्य आयोगका अध्यक्ष राष्ट्रपति सी छन् भने चाङ यूक्सिया र हे वेडोङ उपाध्यक्ष छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update