Public Pana
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको टाटासुमो मकवानपुरमा दुर्घटना : १३ जना घाइते

मकवानपुरको इन्द्रसरोबरमा भारतीय तिर्थयात्रु सवार गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 


नेपाल घुम्न आएका भारतीय तीर्थयात्रु सवार मधेस प्र.०३–००१ज०२८३ नम्बरको टाटासुमो आफैँ अनियन्त्रित भई पल्टिँदा १३ जना भारतीय नागरिक घाइते भएका प्रहरीले जनाएको छ । 


इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ सडक खण्डमा आज बिहान साढे ३ बजे टाटासुमो दुर्घटनामा परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।


भारतीय तिर्थयात्रु वीरगञ्जबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेका हुन् । टाटासुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको छ । 


गाडी चालक बाराको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षीय अनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाका सबै घाइतेलाई उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update