Public Pana
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।

टिकाको साइत बिहान ११ः०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बिहान १०ः३७ बजे देवी विसर्जन गरी ११ः०२ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।


पूर्वी मोहडा गरेर टीका लगाउदा उत्तम मानिने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका सदस्य देवमणि भट्टराईले जानकारी दिए ।

    
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको भट्टराईले बताउँछन्। 

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। 


दशैँ दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैँको नामले परिचित गरिएको भन्ने बुझिन्छ । घटस्थापनाको दिनमा विभिन्न थरीको विउविजनहरु उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशैं दिनमा ग्रहण गरिने हुनाले पनि दशैंलाई खास महत्वपूर्ण चाडको रुपमा लिइन्छ ।


दशैँ दिनमा घरपरिवार आफन्तजनहरुसँगै बसी टिका र जमराका साथसाथै आर्शीवाद आदानप्रदान गर्ने चलन छ । दशैँ दिनमा लगाउन शुरु गरिएको टिका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहा जानको लागि मौका मिल्नेछ । दशैँ परापूर्वक कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् साँस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरु पनि जोडिएको छ ।


राम र रावणको युद्ध, देवी र महिषासुर आदिसँग जोडिएको पाइन्छ । दशैँमा महालक्ष्मी, सरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैँलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।दशैँमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएतापनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखरता प्रदान गरेको अनुभूति दिलाउँछ ।

आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैँको नाममा ‘दशा’ भित्रन सक्छ ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।


घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् ।

घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ ।

आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालार्र प्रस्ट पार्दछ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update