Public Pana
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद

टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ ।

वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थः

द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस्

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।

यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकले व्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !

ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि सङ्घार भित्रका अक्षताहरूमा लक्षण बसोस्, आशिष् दिने मुखमा सरस्वती बसुन् अनि तपाईं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update