Public Pana
अपडेट : भूकम्पका कारण धादिङमा ६ घर पूर्ण क्षति 

हिजो आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ वटा घर पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।


पछिल्ले विवरणअनुसार १८ वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


आइतबार साँझसम्म ६ वटा घर क्षतिग्रस्त बनेको र १८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ ।  
घर भत्किएकालाई वैकल्पिक बसोबासका लागि त्रिपालको व्यवस्था गरिएको छ ।  


भूकम्पले ज्वालामुखी गाउँपालिका–५ को सिम्ले, भाङे, कालिमाटीलगायतका ठाउँका घरहरूमा क्षति भएको   छ ।   
धादिङ, ज्वालामुखी–५ खरी केन्द्र गरेर आइतबार बिहान ७ः३९ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि बिहान ८ः८ मा ४.२, ८ः२८ मा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्युडको परकम्प गएको थियो ।


अपराह्न ४ः०३ बजे ४.४ र साँझ ५ः३१ र  ५ः३३ मा क्रमशः ५.० र ५.१ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।


दिनभरको कम्पनका कारण प्रभावित ठाउँमा स्थानीयहरू घरबाहिरै बसेका थिए ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको परकम्प भएको बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update