Public Pana
बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक


बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो ।
 
जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । 
कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्राबासमा बस्दै आएकी थिइन् । प्रजा र विमला श्रीमान्–श्रीमती हुन् ।
 
पुस १ गते राति शिक्षक विष्टले बिमलामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमान‍्ले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
श्रीमतीलाई अभद्र व्यवहार गरेको झोकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर सिंढीबाट ढलाएको प्रहरीको भनाइ छ । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाति र मुखमा हानेर हत्या गरे ।’
प्रजाले शिक्षक विष्टलाई ढलाएपछि एक जनाले खुट्टा र अर्कोले टाउकोतर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवै जनाले मिलेर हत्या रम्बासको झ्याङमा फालेको प्रहरीको भनाई छ । 
घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
 
शिक्षक विष्टको शव पौष २ गते दिउँसो १ बजे फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 
सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक विष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update