Public Pana
रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
फाइल तस्बिर

रौतहटको चन्द्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 


पूर्वपश्चिम राजमार्गमै जोडिएको चन्द्रपुर–५ राजपैडामा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया मनीयादेवी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए । 


घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला हिजो शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो । 


हात्तीले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन भागेकी धामीको शव आइतबार बिहान स्थानीय चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा फेला परेको हो ।  


धामीसँगै घाँस काट्न गएकी सोही ठाउँकी ५३ वर्षीया अघनिया देवी चौधरी र ६० वर्षीया पनाबती देवी हात्तीको आक्रमणबाट घाइते भएका छन् । 


हात्तीले आक्रमण गर्न थालेपछि उनीहरुले भागेर ज्यान जोगाएका हुन् । गएरातिदेखि बेपत्ता भएकी धामीलाई खोज्न गएका प्रहरी पनि भागदौडका क्रममा घाइते भएका छन् ।


आज आइतबार बिहान स्थानीय वासी, नेपाली सेना, प्रहरी र जिल्ला वन कार्यालय रौतहटका कर्मचारीको टोलीले खोजतलासको क्रममा महिलाको शव फेला पारेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले जानकारी दिए । 


घाइते दुई प्रहरीसहित चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 


मृतक महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर लगिएको छ । 


जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत लामो समयदेखि जंगली हात्तीले बालिनाली खाइदिँदा रौतहटका स्थानीय पीडामा छन् ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update