Public Pana
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोलामा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज आइतबार अफ्रिकी मुलुक अंगोला प्रस्थान गरेका छन् ।


९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना अंगोलाको लुवान्डामा आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७ औँ महासभामा भाग लिन लागेका हुन् ।


अध्यक्ष तिमिल्सिनाको टोली आज अंगोलातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । 


शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ अंगोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३–२७) सम्म (आईपीयू) को १४७ औँ महासभा हुँदैछ ।


महासभामा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौँदी र जीतेन्द्रनारायण देव छन् भने प्रतिनिधिसभाबाट रुपासोसी चौधरी र सन्तोष परियार रहेका छन् ।


त्यस्तै, संघीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ दुर्गाप्रसाद शर्मा नेपाली प्रतिनिधिमण्डलमा छन् ।


महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डी होस र आयरल्यान्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


त्यसैगरी, आईपीयूको फोरम अफ योङ पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहेका संघीय संसद्का महासचिव गौतमले सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update