Public Pana
इजरायलमा मारिएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज आइपुग्दै

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा इजरायलमा मारिएका १० मध्ये चार नेपाली विद्यार्थीको शव आज नेपाल आइपुग्दै छ ।

इजरायलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड १२-१० विमानमार्फत दुबई हुँदै ती शव नेपाल ल्याउन लागिएको हो । उडान तालिकाअनुसार आज दिउँसो काठमाडौं आइपुग्दै छ ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार शव दुबई ल्याएपछि फ्लाई दुबईकै उडानबाट काठमाडौं ल्याइपुर्‍याउने व्यवस्था मिलाइएको छ । 
पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल ल्याउन लागिएको हो । 
हमासको आक्रमणमा मारिएका अन्य ६ जना नेपालीको शव परीक्षणमा थप समय लाग्ने दूतावासले जनाएको छ ।

यसैबीच युद्ध थप लम्बिन सक्ने देखिएको भन्दै १४० नेपालीले स्वदेश फर्कने इच्छासहित फाराम बुझाएका छन् । तर तीमध्ये पनि सातजना मात्रै तत्काल नेपाल फर्कन चाहेको दूतावासले जनाएको छ । 


उनीहरुलाई केही दिनमै नियमित विमानबाटै नेपाल फर्काउने तयारी गरिएको छ ।

यता हमासको आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update