Public Pana
टुँडिखेलमा फूलपाती बढाइँ 

बडादसैँको फूलपातीका दिन आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी फूलपाती बढाइँ गरिएको छ ।


फूलपाती बढाइँ कार्यक्रममा नेपाली सेनाले सैनिक परेडका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरेको थियो। सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गर्ने गर्दछ ।


समारोहमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए ।


बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।
नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । 


गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास नेपाली सेनामा छ ।


आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको थियो। फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको थियो ।


तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।
ras-1697896838.png

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update