Public Pana
गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले ‘विलासिता’ का १० वस्तुमाथि लगाएको आयात प्रतिबन्ध केहीमा हटाए पनि केही यथावत राखेको छ।

चार महिनाअघि लगाएको प्रतिबन्धको म्याद भदौ १४ गते सकिएको थियो। त्यसपछि आइतबार मध्यरातिबाट सरकारले ६ बस्तुमा लगाएको आयात प्रतिबन्ध खुला गर्दै ४ बस्तुलाई यथावत राखेको छ। 

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो। 

असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो।

भदौ १५ गते राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ बस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दैं चार बस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको छ।

कुरकुरे, लेज र यस्तै उत्पादनहरू, चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना र खेल्ने तासको आयात खुला गरेको छ।

सरकारले चार वस्तुमा भने अझै प्रतिबन्ध कायम गरेको छ।

सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध कायम रहनेछ।

प्रतिबन्धित सामानहरू यहाँका दूतावास तथा कुटनीतिक निकायले आफ्नो निजी उपभोगका लागि मात्र ल्याउन पाउने छन्।

यस्तै साउन १ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने १५० देखि २५० सिसीसम्मका मोटरसाइकल र ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा यो नियम लागू हुने छैन।

यस्तै वैशाख १३ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शवबाहन बाहेक), मोटरसाइकल, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक) र स्मार्ट फोनको हकमा यो नियम लागू नहुने भएको छ। 

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update