Public Pana
नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुग्यो, जापान हार्यो

जापानलाई डिएल मेथडमा पराजित गर्दै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।


फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।


शनिबार भएको पहिलो सेमिफाइनलमा जापानलाई डक वर्थ लेविस पद्धतीमा १ सय ४४ रनले हराउँदै नेपाल अपराजित रुपमा उपाधि नजिक पुगेको हो ।


नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो ।


जापानका दुई खेलाडीले मात्र दोहोरो अंकको स्कोर छुन सके। अन्य ब्याटर सस्तैमा समेटिए ।

जापानका सोतारो हिरात्सुकाले १५ र केइफर योमामाटो लाकेले १४ रन बनाए ।


जापानलाई सस्तैमा रोक्न हेमन्त धामी र दिपेश कडेलले समान ३ विकेट लिए। सुवास भण्डारीले २ तथा आकाश चन्दले एक विकेट आफ्नो नाममा गरे ।


त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो। २५ ओभरको खेल जारी रहँदा वर्षाका कारण खेल प्रभावित भएपछि ओभर छोट्टाइएको थियो ।


ओभर घटाइएको खेलमा जापानले २२ ओभरमा १ सय ८७ रनको नयाँ लक्ष्य पाएको थियो ।


दोस्रो विकेटका लागि दिपक बोहोरा र आकाश त्रिपाठीले ८५ बलमा ९३ रनको साझेदारी गरेका थिए। ओपनर दीपक ७० बलमा ७९ रन बनाउँदा क्याच आउट भए ।


त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भए ।


आकाश त्रिपाटी ३५ र कप्तान देव खनाल ८ रनमा नटआउट रहे ।


नेपालले अब उपाधिका मंगलबार युएईसँग खेल्नेछ ।


आजै भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएको थियो ।


फाइनलमा पुगेका नेपाल र युएईले एसिया कपमा स्थान पक्का गरेका छन्। तेस्रो स्थानका लागि जापान र सिंगापुर खेल्नेछन् । 


यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update