Public Pana
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै

नेपाली सेनाद्वारा शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दैछ । समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति सहभागी हुने छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।


बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।


बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरूलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा रहेका छन् ।


फूलपाती समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको पनि बाक्लो उपस्थिति हुने गर्छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update