Public Pana
दसैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना 

पूर्वराजा ज्ञानेन्द्र शाहले लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देशलाई राम्रो गर्न नसेको बताएका छन् ।


‘श्री ५ महाराजाधिराज’ उल्लेख गरी बडा दसैँको अवसरमा शुक्रबार दिइएको शुभकामना सन्देशमा गएको डेढ दशकयता नेपाली निराश बनेको उल्लेख छ ।
पूर्वराजाले देशमा महँगी, रोग, शोक, र भोकको ताप छ भन्दै नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा रहेको बताएका छन् ।
‘हाम्रो देश झन् झन खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ’ सन्देशमा भनिएको छ ।

यस्तो छ शुभकामना सन्देश


श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विजया दशमी २०८० को उपलक्ष्यमा बक्सेको शुभकामना

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ। असत् माथि सत्को विजय दर्शाउने यो पर्वले हामीलाई सहि, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ। देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहेपनि अन्ततः हामी सबै नेपाली हौँ। यो साझा फूलवारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हो भन्ने हेक्का हामीमा रहनै पर्दछ। कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ।

धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो। अभाव र भेदभाव नेपालीपन होइन। सद्भाव बिनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन।

डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन्। हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ। विदेशिएका र देशमै रहेबसेका दुवैथरीमा विछोडको पीडा छ। महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्। हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्यो, न सुधार आयो। हाम्रो देश झन् झन खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन्। यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ विहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन?

जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ। देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन हाम्रो यही चाहना हो।
श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून्।

जय नेपाल ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update