Public Pana
पाकिस्तानको लगातार दोस्रो हार

भारतमा जारी एकदिवसीय विश्वकपमा सुरुवाती दुई खेल जित्दै राम्रो सुरुवात गरेको पाकिस्तान शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनले पराजित भएको छ । पछिल्लो खेलमा भारतसँग ७ विकेटले पराजित भएको पाकिस्तानको यो लगातार दोस्रो पराजय हो ।


उता सुरुवाती दुई खेलमा हारेको अस्ट्रेलियाले पुनरागमन गर्दै लगातार दुई खेल जित्न सफल भएको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ६८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ४५.३ ओभरमा ३०५ रनमा समेटियो ।


पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्लाह सकिब र इमाम उल हकले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इमामले टोलीका लागि सर्वाधिक ७० तथा अब्दुल्लाह सफिकले ६४ रन बनाए ।


त्यसपछि भने पाकिस्तानले नियमित रुपमा विकेट गुमाउँदै गयो । मोहमद रिजवानले ४६ रन बनाए भने साउद सकिलले ३० रनको योगदान दिए । त्यस्तै इफ्तिकार अहमदले २६ रन बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पाले घातक बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, प्याट कमिन्सले र  मार्कस स्टोइनिसले २–२ विकेट लिए ।


यसअघि बेंगलौरस्थित एम. चिन्नास्वामी स्टेडिमयमा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो । डेभिड वार्नर र मिचेल मार्सले ओपनिङ विकेटका लागि कीर्तिमानी साझेदारी गरे ।


मार्स र वार्नरले ओपनिङ विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका हुन् । अस्ट्रेलियाले एकदिवसीय विश्वकपमा ओपनिङ विकेटका लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । यसअघि अस्ट्रेलियाले विश्वकपमा ओपनिङ विकेटका लागि एक सय ८३ रनको साझेदारी गरेको थियो । 


सन् २०११ को विश्वकपमा क्यानडाविरुद्ध अस्ट्रेलियाका शेन वाट्सन र ब्राड ह्याडिनले ओपनिङ विकेटका लागि एक सय ८३ रनको साझेदारी गरेका थिए । त्यो खेलमा वाट्सनले ९४ र ह्याडिनले ८८ रन बनाएका थिए । संयोगले त्यो खेल पनि भारतको यही स्टेडियममा खेलिएको थियो । 


यसैगरी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले कुनै पनि विकेटका लागि गरेको यो दोस्रो ठुलो साझेदारी पनि हो । विश्वकपमा अस्ट्रेलियाको सबैभन्दा ठुलो सझेदारी दुई सय ६० रन हो । सन् २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्ध अस्ट्रेलियाले दोस्रो विकेटका लागि दुई सय ६० रनको साझेदारी गरेको थियो । त्यतिबेला अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले एक सय ७८ र तेस्रो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथले ९५ रन बनाएका थिए । 


विश्वकपको इतिहासमा ओपनिङ विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी भने दुई सय ८२ रन हो । त्यो साझेदारी सन् २०११ को विश्वकपमा जिम्बाबेविरुद्ध श्रीलंकाली टोलीका ओपनर ब्याट्सम्यान उपुल थारंगा र तिरकरत्ने दिल्सानले गरेका थिए । त्यो खेलमा थारंगाले एक सय ३३ र दिल्सानले एक सय ४४ रन बनाएका थिए ।  

जारी विश्वकपको पाकिस्तानविरुद्धको खेलमा वार्नर र मार्स दुवैले शतकीय पाली खेले । वार्नरले एक सय ६३ रनको उत्कृष्ट पाली खेले । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल एक सय २४ बलको सामना गरी नौ छक्का र १४ चौका प्रहार गरेका थिए । एकदिवसीय क्रिकेटमा उनले २१औँ शतक प्रहार गरेका हुन् । 


मार्सले पनि टोलीका लागि एक सय २१ रनको योगदान गरे । उनले एक सय आठ बलको सामना गरी नौ छक्का र १० वटा चौका हिर्काएका थिए । उनले पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले एकदिवसीय क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन् । 


तेस्रो नम्बरमा क्रिज समाल्न आएका ग्लेन म्याक्सवेल भने शून्य रनमै पेभेलियन फर्किए । स्टिभन स्मिथ पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान जोस इङ्लिसले १३ रन जोडे । मार्कस स्टोइनिसले २१ र मार्नस लाम्बुसेनले आठ रन बनाए ।
अस्ट्रेलियाले अतिरिक्त रूपमा २५ रन पाएको थियो । प्रारम्भमा पाकिस्तानी टोलीका बलरहरू खासै प्रभावकारी देखिएनन् ।

तर, दुवै ओपनर आउट भएपछि भने खेलमा पाकिस्तानी बलरहरू हाबी भएका थिए । साहिन शाह अफरिदीले पाँच विकेट लिए ।

ह्यारिस रउफले तीन विकेट हात पारे । उसमा मिरले एक विकेट लिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update