Public Pana
दशैं र तिहार लगायतका चाडपर्वमा आफन्तलाई शुभकामना सन्देश पठाउन नेपाल टेलिकमको समुह एसएमएस

नेपालीहरुको महान चाड बडादशैं र तिहार लगायतका चाडपर्वको सन्दर्भमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ ।

यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिले देखि नै सञ्चालनमा ल्याइरहेको छ ।


सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ। यसअनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्छ ।


२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ। यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ। नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नभएको कम्पनीले जनाएको छ ।


यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने उल्लेख छ ।


टेलिकमकाअनुसार यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np मा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।


एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दोहोर्याई आफूले चाहेबमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update