Public Pana
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो
फाइल तस्बिर

क्यानाडा र भारतबीच चलिरहेको कुटनीतिक तनावका बीच क्यानडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।


दुई देशको कुटनीतिक तनावका बीच क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञ र उनीहरूको परिवारका ४२ जना सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ ।


दुई देशबीच चलिरहेको कुटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानाडाली कुटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानडेली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।


मन्त्री जोलीले ‘भारतसँगको स्थिति’ माथि विकसित घटनाक्रमबारे घोषणा गर्दै कुटनीतिज्ञहरूको फिर्तीपछि क्यानाडाले दिने सेवा वितरणमा यसको कस्तो प्रभाव पर्नेछ भन्नेबारे जानकारी गराउनुभयो । 


‘भारतको यो निर्णयले दुवै देशका नागरिकलाई सेवाको स्तरमा कुनै असर पर्ने छैन । दुर्भाग्यवश हामीले चन्डीगढ, मुम्बई र बेङ्गलोरमा हाम्रा वाणिज्य दूतावासका सबै व्यक्तिगत सेवा रोक्नुपयो’, उहाँले भन्नुभयो, ‘कन्सुलर सहयोग आवश्यक पर्ने क्यानडेलीले अझै पनि दिल्लीमा रहेको हाम्रो उच्च आयोगमा जान सक्नुहुन्छ, तपाईँले अझै पनि फोन र इमेलमार्फत व्यक्तिगत सेवा लिन सक्नुहुन्छ ।’


क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्या भएयता दुई देशको सम्बन्ध चिसिएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीच तनाव बढेको हो । भारत सरकारले भने शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

 

भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।


निज्जर हत्या प्रकरणले भारत र क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै नराम्रो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update