Public Pana
१० प्रतिशत विन्दुले घट्ने भयो ब्रोकर कमिसन : धितोपत्र बोर्ड 

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । आज बुधबार बसेको बोर्ड सञचालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो ।


बोर्डको यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आउने छ ।


धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने प्रस्ताव गरेको थियो । सोही समितिको प्रस्ताव अनुसार बोर्डको सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने भएको छ ।


संशोधित नयाँ कमीसन अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमा ०.३६ प्रतिशत पुग्नेछ । यस्तै ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने निर्णय भएको धितोपत्र बोर्डले जनाएको छ ।


बोर्डले ब्रोकर मार्फत आफूले पाउने शुल्क समेत १० प्रतिशत बिन्दुले घटाएको भनाइ छ ।

हाल बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्क बापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएकोमा अब ब्रोकरबाट नियमन शुल्कबापत ०.५४ प्रतिशत लिने निर्णय भएको बोर्डले उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update