Public Pana
केदार कार्कीसँगको खेल अन्त्य भयो : पूर्वमुख्यमन्त्री उद्धव थापा

नेपाली कांग्रेस कोशी प्रदेशले मुख्यमन्त्री निर्माणको म्युजिकल खेल अन्त्य भएको बताएको छ । 


प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री उद्धव थापाले यस्तो बताएका हुन् । उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको बताएका हुन् । 


मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि कांग्रेसले स्वागत गरेको बताए । मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर कांग्रेसका ८ जनालाई पनि आफूहरुले गला मिलाएको बताए । 


गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेदवारलाई मान्ने भन्ने अवस्था आउन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए ।

गठबन्धनका तीन जना शीर्ष नेताको  हस्ताक्षरसहितको विज्ञप्ति आएको बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि विचार एक ठाउँमा राखेर यो सरकारलाई निरन्तरता दिन आग्रह गरे । उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए । 


‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हाम्रो बजेट अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौँ । यसलाई कसैले हारजितको रुपमा नलिऔँ,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनाहरुमा काम भएको छ, भुक्तानी गर्न बाँकी छ । त्यसले गर्दा प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने हो भने सहमतिको माध्यामबाट यसलाई पनि टुंग्याउ ।’


प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ति जनाउनु आवश्यक नभएको बताए ।

‘सडकमा आन्दोलन भइरहेको छ । के हो भनेर सरकारले सुन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ थापाले भने, ‘अब मुख्यमन्त्रीले पहिचानको मुद्दालाई सम्बोधन गर्ने दिशामा अगाडि बढ्नुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update