Public Pana
राजनीतिकर्मी आत्मानुशासक पालक ? : राप्रपा 

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् ।

भ्रष्टाचार यत्रतत्र भएको, सरकारी जग्गा अपचलन हुन, क्वीन्टल क्वीन्टल सुन तस्करी हुने, मानव तस्करी हुने अवस्था रहेको बताउँदै उनले यसखालका गतिविधि यो प्रदेशमा प्रवेश गर्नै दिन नहुने सिटौलाले बताए । 


कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले प्रदेशको जग बलियो बनाउनुपर्ने बताए ।

‘भ्रष्टाचारको अन्त्य गर्न र प्रशासनलाई राम्रो बनाउन कानुन आवश्यक भएको छ । विधिमा मुलुक चलेको छैन । कोही एक व्यक्तिले पूर्ण समुदायलाई गाली गर्दा सरकार चुप लागेर बसेको छ,’ उनले भने, ‘मुलुक औद्योगीकरण गर्नुपर्छ । पूर्वाधार निर्माण गर्नुपर्छ । तर, आज त्यसको अवस्था शून्य छ ।’


कोही एकजना व्यक्तिलाई रिस उठ्यो भन्दैमा तस्बिर राखेर त्यहाँ थुक्नु, सार्वजनिक अपमान गर्नु भनेको देशको बेइज्जत भएको सिटौलाले भने । झापामा आयोजित एमाले कार्यक्रममा दुर्गा प्रसाई निकटका व्यक्तिहरुले गरेको आक्रमणविरुद्ध आक्रोशित हुँदै सिटौलाले पुलिस रमिते भएको बताए । 


‘मुलुक ऐन कानुन अनुसार चल्छ कि चल्दैन ? कोशी प्रदेशको नामकरण संविधानअनुसार गरियो । तर, कोशी नामकरणमा ल्याप्चे लगाउनेहरु कुन नैतिकताले मुख देखाउन मिल्छ ?,’ सिटौलाले भने, ‘यस्तो बचकनाले मुलुक चल्छ ? संविधानसम्मत राखिएको कुरालाई संविधानसम्मत ढंगले नै परिवर्तन गर्नुपर्छ । तर, कोशी नाममा ल्याप्चे लाउनेहरु नै सडकमा निस्कनु यो राम्रो भएन ।’


यो सरकार तरवारको धारमा रहेको बताउँदै सिटौलाले ९३ जनै सांसद र प्रदेशका राजनीतिक पार्टीहरुले आत्माअनुसानको पालना गर्नुपर्ने बताए ।

प्रदेशमा चुस्तदुरुस्त काम नभएको बताउँदै कर्मचारीमा काम टार्ने र परसार्ने काम भइरहेको सिटौलाले दाबी गरे । त्यसो हुनुमा ऐन कानूनले कर्मचारी प्रशासनलाई मनोबल बनाउने काम नगरेको दाबी गरे ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update