Public Pana
यो वर्ष मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
फाइल तस्बिर

यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ  ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ ।


प्राधिकरणले आज मंगलबार सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिए ।


यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो। भित्रिँदा पनि नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो। यसवर्ष मनसुन एक सय २४ दिन रहेको थियो ।


यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update