Public Pana
नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरेका छन् । 


११ औं गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वसम्मेलनको मंगलवार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।  


‘नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस् र तपाईंहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।
नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सकेमात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुने राष्ट्रपति पौडेलको भनाइ थियो । 


‘नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ,’ उनले थपे ।
राजनीतिक परिवर्तनपश्चात् देश आर्थिक विकासको चरणमा प्रवेश गरेको भए पनि संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको राष्ट्रपतिको पौडेलले गुनासो गरे ।


सो अवसरमा उनले नागरिकता विधेयक गैरआवासीय नेपालीको हितका लागि ल्याइएको दाबी गरे ।


‘तपाईंहरूप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानूनी व्यवस्थाहरूको तर्जुमा गरेको छ  । हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो,’ उनले भने, ‘नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।’


एनआरएनएको ११औं विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन मंगलवारदेखि शुरू भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update