Public Pana
भावी प्रधानसेनापति बन्ने संकेत ताराध्वज पाण्डेमा
फाइल तस्बिर

सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी पदमा बढुवाका लागि प्रक्रिया अघि बढाएको छ ।


सेनाको बढुवा समितिले उनलाई रथी पदमा बढुवा गर्न सिफारिस गरेको सैनिक सचिव विभागका प्रमुख ज्योतीन्द्र महतद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।


अब प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई बढुवा गर्न सक्छ। पाण्डे हाल सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख छन् ।


उनी रथीमा बढुवा भए भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन् ।


नेपाली सेनाले आज जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको रथी पदमा बढुवा सिफारिसका लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ ।


नेपाली सेनामा हाल दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गतेबाट सेवानिवृत्त हुँदै छन्। राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार बिदामा बसिसकेका छन् । अर्का रथी सीताराम खड्का आगामी पुस ३ मा अवकासमा जाँदै छन् ।


उक्त स्थानमा उपरथी अशोकराज सिग्देल सेना बढुवा हुन सक्नेछन् । 


प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update