Public Pana
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको छेन्दु पुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र  नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरेका थिए । 


उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा पुगेका हुन् ।


उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्नु गर्नेछन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुनेछन् । उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।


भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ । वाङ चिनियाँ कम्युनिस्ट पार्टीका सचिव तथा स्टेट काउन्सिलर हुन् ।

भ्रमणका सिलसिलामा उनी चिनियाँ राष्ट्रपति सि चीनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनेछन् ।


‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

बीआरआई सम्पर्क सञ्जाल, पूर्वीय सभ्यताको विकास, देशबीचको सहयोग एवम् भाइचारा र पर्यावरणलगायत दिगो विकासमा योगदान पु¥याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजनाका रुपमा रहेको छ । चीनले २०१७ मा पहिलो र २०१९ मा यस्तो सम्मेलन आयोजना गरेको थियो ।


सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता  छ ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update