Public Pana
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

बीआरआई सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका छन् । 


बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका हुन् । 


भोली मंगलबार र पर्सी बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुँदैछ। सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिने उनको सचिवालयले जनाएको छ ।


सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।


वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुन्। उपप्रधानमन्त्री श्रेष्ठ र वाङबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुने बताइएको छ ।


सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रिभोजमा श्रेष्ठ सहभागी हुनुहुने छन् । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी बताइएको छ ।


चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । 


बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो ।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख  अनिल पोखरेल लगायत सहभागी छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update