Public Pana
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासको मत लिन लागेका हुन् ।


कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उनले बुधवार नै विश्वासको मत लिन लागेका हुन् ।


कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।


मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।

यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उहाँले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो । यदि कार्कीले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।

kedar_karki_1697449841.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update