Public Pana
उद्योगीको समस्या र अर्थसंकट सरकारले बुझ्नै नसकेको पूर्वअर्थमन्त्री पौडेलको दाबी

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले उद्योगी व्यवसायीको समस्या र अहिलेको अर्थसंकट बुझ्नै नसकेको बताएका छन् ।


सत्ता टिकाउन जस्तोसुकै सम्झौता गर्ने तर कार्यान्वयनमा ध्यानै नदिने प्रवृतिले थप संकट आइलागेको बताउँदै उनले पछिल्लो चिर्कटो सम्झौता त्यसैको उदाहरण भएको बताए ।


रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको सोमवार बुटवलमा उद्घाटन गर्दै उनले राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको आरोप लगाए ।


‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ १ सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्यो भन्नेमा मात्र केन्द्रित छ’ उनले भने ।


जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको उनले टिप्पणी गरे । देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार अझै नगरेको पौडेलले बताए । सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट हुने अवस्था नभएको पूर्वअर्थमन्त्रीसमेत रहेको उनको भनाइ छ । उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगेरूको लाठी बर्साएको उनको टिप्पणी थियो ।


‘उद्योगीका समस्या के छन् सरकारले सुन्दैन, समाधान गर्न के गर्नुपर्छ त्यसमा सहयोगी बन्दैन, अनि टवाङ–टवाङ टाउकोमा हिर्काउँदै हिडिँरेको छ । उद्योगी र व्यवसायीलाई त्रसित गर्ने, आतंकित गर्ने, उनीहरूको भय दोहन गर्ने, उनीहरूबाट अनुचित किसिमको लाभको अपेक्षा गर्दै लाठीसहित हिँडेको छ,’ उनले थपे ।


जसले गर्दा पूँजी पलायन हुँदै गएको बताउँदै उपाध्यक्ष पौडेलले भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदैगएको बताए । उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत उत्पादन गर्नसमेत नसकेको उनले संकेत गरे ।

‘आपूर्ति, माग र उत्पादन नभएको देश धानिन्छ कसरी ?’, पौडेलले सरकारलाई प्रश्न गरे । यो अवस्था आउनु भनेको देशका लागि धेरै ‘सिरियस इन्डिकेसन’ भएको पनि उनले सचेत गराए ।


नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको सन्देश विदेशीसम्म पुगेकोसमेत पौडेलको गुनासो थियो । उनले मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने गरी ढुंगा हान्ने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए । यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए ।


यसैगरी रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा समेत संकट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको गुनासो पाखे ।

कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो ।

५० हजार राशीको सो पुरस्कार पत्रकार महासंघको समन्वयमा संघले स्थापना गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update