Public Pana
चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी


सर्वाेच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ ।
दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वाेच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् । 
सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो ।
योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो ।
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज बिहीबार उनलाई अध्यागमन विभागमा बुझाइने छ । 
कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ । उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ । जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update