Public Pana
कोशीका तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन् । 


शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए । लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन् । 


एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन् । राई र रानाको मन्त्रालय भने तोकिएको छैन ।


कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । 


नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । 


मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । 


उनीहरू दुवैले ४७–४७ जना सांसदको हस्ताक्षरसहित बिहीबार मुख्यमन्त्री दाबी गरेका थिए । 


सो दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुखले सनाखतका लागि प्रदेश सभा सदस्यहरूलाई सशरीर उपस्थित गराएर सनाखत गराएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update