Public Pana
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 


यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने देखिएको छ । यसरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 


आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।


दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।


दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।


नौ दिन नौ दुर्गाको पूजा


नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 


आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

वडादशैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ ।

 महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।  


विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा


नवरात्र भनेर समेत चिनिने दशैँ नौ रात र १० दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । 
 

कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।

टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update