Public Pana
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की इमानदार भएसम्म एमालेको समर्थन रहिरहने बताएका छन् ।

आज शनिबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमाले सत्ताको हतारोमा नरहेको पनि बताए । 


‘हाम्रो चाहीँ उहाँ(केदार कार्की) इमानदारीतापूर्वक अगाडि बढेसम्म एमालेको साथ रहन्छ। भोलि एमाले मन्त्रिपरिषद्मा सहभागी हुने वा नहुने कुरा मुख्यमन्त्रीको भूमिकामा भर पर्छ,’ महासचिव पोखरेलले भने, ‘हामीले स्वभाविक रुपमा वैकल्पिक सरकारका लागि साथ दिएका छौं । यदी उहाँ गठबन्धनतिर नफर्किए नेकपा एमालेले साथ दिन्छ ।’


दललाई स्वतन्त्र बन्न सक्ने ब्याख्यासहित शनिबार कोशीमा सरकार बनेको उल्लेख गर्दै उनले भने, ‘आजको संवैधानिक व्याख्याको परिस्थितिको रुपमा यसलाई लिएका छौं। संविधान असफल भइरहेको बेलामा कोशीले उदाहरण प्रस्तुत गरेको छ ।’


तर, सत्ता गठबन्धनका नेताहरू पुनः दाउपेचको राजनीतिमा लागेको उनको जिकिर छ । 


कोशीमा भएको कुरालाई गठबन्धनले अवैधानिक मानेको खण्डमा अहिलेको सरकार पनि अवैधानिक हुने उनको भनाई छ । 


महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गरे । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update