Public Pana
दशै लाग्यो, संसदको चालु अधिवेशन अझै सकिएन 

संघीय संसद्को चालु अधिवेशन लम्बिएको छ । 


केही वर्षयता दसैँअगाडि सक्ने अभ्यास गरिएपनि यो वर्ष बजेट (बर्खे) अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ । 


हिजो शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबिचमा परामर्श भए पनि औपचारिक निर्णय भएन ।

सरकारले संसद् सचिवालयलाई संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित नेपाल भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी दिएको छ । 


यसअघि सरकारले आज (असोज २७) नै महासचिव गुटेर्रेसले संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने गरी अनौपचारिक तयारी थालेको थियो तर, इजरायलमाथि हमासको आक्रमणपछि गुटेर्रेसको सो भ्रमण स्थगित भएको थियो ।


भ्रमण कात्तिक ११ गते हुन सक्ने सम्भावना रहेको भन्दै संसद्मा सम्बोधनका लागि अधिवेशन लम्ब्याइएको हो । 


यसैबिच प्रतिनिधि सभाले विद्युत् विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा विधेयकलाई समितिमा छलफलका लागि पठाइएको हो । 


विधेयकमाथि पूर्वाधार विकास समितिमा छलफल हुने छ । सो विधेयक भदौ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।  
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update