Public Pana
आज सांसदहरूको सनाखत कोशीको मुख्यमन्त्रीलाई

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (शनिबार) सांसदहरुको सनाखत हुँदै छ ।


प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।


मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन् ।


प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन् ।  


प्रदेश प्रमुखको कार्यालयले शुक्रबार सूचना जारी गर्दै दुबै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ ।


मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन् ।


तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन् ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update