भेपको सुन प्रकरणमा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख धरौटी माग भएको छ । धरौटी बुझाएमा उनी रिहा हुनेछन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ ।
सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौँकै बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ।
यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ । छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरुङ फरार छन् ।