Public Pana
नमरुन्जेल एमाले नछाड्ने नेता भीम रावलको भनाइ

एमाले नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन् ।


धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन ।’ उनले सांकेतिक रुपमा नमरुन्जेल एमाले नछाड्ने बताएका हुन् । 


त्यो अवस्था अझै सिर्जना भएको छैन? भन्ने प्रश्नमा रावलले अध्ययन गरिरहेको भन्ने जवाफ दिए ।


उनले एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे आफूलाई कुनै जानकारी नभएको बताए ।


अधिवेशनका लागि रावलले निमन्त्रणा नगरिएको विषयमा निकै चर्चा भएको थियो । पार्टी नेतृत्वले रावललाई सुदूरपश्चिममै पाखा लगाउन खोजेको कतिपय कार्यकर्ताले बताएका थिए । केही समयअघि भने एमालेले रावलसित संवाद गर्न टोली बनाएको थियो । त्यो टोलीसित एकपटक भेट भएको रावलले बताए ।


एकपटक पार्टी अध्यक्षसित पनि भेट भएकोबाहेक थप के भयो भन्नेबारे पार्टीबाट जिम्मेवारी पाएका व्यक्तिलाई थाहा हुने उनले बताए ।


यस्तै रावलले सुदूरपश्चिमको भूगोलमा भारतका प्रधानमन्त्री आएको विषयमा राज्य मौन बस्नु आपत्तिजनक भएको बताए ।
‘आफ्नो सिमानाको रक्षा गर्नु राज्यको पहिलो दायित्व हुन्छ, संसदबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा जारी गरिसकेपछि कुनै विदेशी प्रधानमन्त्री कुनै जानकारीबिना आउँदा नेपाल सरकारले तत्काल बोल्नुपर्ने हुन्छ’, उनले भने ।


तत्काल भारतका अधिकारीहरूलाई बोलाएर सोध्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री एनपी साउद र अरू अधिकारीहरू मौन रहेको रावलको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update